नेपालगञ्ज - बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गर्दै सेयर बजार, लगानी तथा बचतसम्बन्धी एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको यस क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा विद्यार्थीको क्षमता अभिवृद्धिका लागि “सेयर बजार तथा वित्तीय व्यवस्थापन” सम्बन्धी तालिम सञ्चालन गरिएको हो।

आइतबार बिहान १० बजेदेखि सुरु भएको उक्त तालिममा क्याम्पसका विभिन्न संकायमा अध्ययनरत १६० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सेयर बजार, लगानी तथा बचतको महत्व र यसका व्यावहारिक पक्षबारे अनुभवी प्रशिक्षक डा. उदयराज अधिकारीले प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, समग्र वित्तीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारी तथा प्रशिक्षण सरोज कुमार चौधरीले गराउनुभएको थियो।

स्ववियु अध्यक्ष केशर जंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख डा. लालमणि आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। युवाहरूलाई वित्तीय रूपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले स्ववियुले यस्तो कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूलाई अनुशासनमा रहेर ज्ञान हासिल गर्न शुभकामना दिनुभयो। साथै, उहाँले आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रमहरू क्याम्पसकै हलमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुखहरू डा. सुवास गौतम र डा. श्रीधर अधिकारीको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा स्ववियु अध्यक्ष शाहले धैर्यता र अनुशासनका साथ सहभागी भई तालिमलाई सफल पारेकोमा सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। युवा वर्गलाई सचेत, सशक्त र अग्रसर बनाउन यस्ता सेयर बजार र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने कुरामा उहाँले जोड दिनुभएको थियो।